विवादित सोशल मिडिया पोस्ट प्रकरणमा लालु यादवलाई मुजफ्फरपुर अदालतको नोटिस

17 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २८ गते । राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु प्रसाद यादवमाथि सोशल मिडिया ‘एक्स’ मा गरिएको विवादास्पद पोस्टका कारण नयाँ कानुनी झमेलो थपिएको छ। अधिवक्ता सुधीरकुमार ओझाद्वारा दायर मुद्दापछि मुजफ्फरपुरको अदालतले लालु यादवलाई नोटिस पठाउँदै २४ सेप्टेम्बरमा स्वयं वा वकिलमार्फत उपस्थित हुन आदेश दिएको हो। मुद्दामा आरोप लगाइएको छ कि उनले ‘बिहार = बलात्कार’ लेखेर बिहार र यहाँका जनताको सम्मानमा आँच पुर्‍याएको र उनीहरूलाई अपमानजनक रूपमा चित्रित गरेको छ।

अधिवक्ता ओझाका अनुसार, यो पोस्टले बिहारवासीको भावनामा गहिरो चोट पुर्‍याएको छ र राजनीतिक लाभका लागि जानाजानी यस्तो शब्द प्रयोग गरिएको हो। अदालतले मुद्दालाई गम्भीर मान्दै आरजेडी सुप्रीमोविरुद्ध औपचारिक सुनुवाइको प्रक्रिया अघि बढाएको छ। यसअघि पनि लालु यादव विभिन्न कानुनी मुद्दामा उल्झिरहेका अवस्थामा यो प्रकरण थपिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?