साउने तेस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
14 दिन पहिले
प्रकाशित
काठमाडौं, श्रावण १९ गते । साउन महिनाको तेस्रो सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा गर्न भक्तजनको ठूलो भीड देखिएको छ। पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएपछि दर्शनार्थीहरूको घुइँचो लागेको हो। साउन महिना र सोमबार भगवान् शिवकाे प्रिय समय मानिने भएकाले श्रद्धालुहरू बिहानै स्नान गरी व्रत बसेर शिवालयमा पूजा गर्न आउने गर्छन्। पशुपति क्षेत्र रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनले भरिएको थियो।
विवाहित महिलाले श्रीमान्को दीर्घायुकाे कामना र अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै साउने सोमबारको व्रत बस्ने परम्परा छ। घरघरमा महिलाहरूले परिवारको सुख, शान्ति र समृद्धिका लागि पूजा गर्दछन्। यस वर्ष साउनमा चारवटा सोमबार पर्नेमध्ये तेस्रो सोमबार सबैभन्दा बढी भीड देखिएको छ। राजधानीको गोकर्णेश्वर महादेव मन्दिर लगायत अन्य शिव मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments