काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : ८० अर्ब खर्च, ४२ प्रतिशत मात्र काम सम्पन्न

15 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण १८ गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ। नेपाली सेनाले यो आयोजनामा हालसम्म ८० अर्ब ५४ करोड रुपियाँ खर्च भएको जनाएको छ। सुरुमा १ खर्ब ७५ अर्बमा सम्पन्न गर्ने अनुमान गरिए पनि लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ। २०८२ असार मसान्तसम्मको तथ्याङ्कअनुसार भौतिक प्रगति ४२.१३ प्रतिशत छ भने वित्तीय प्रगति ४४ प्रतिशत भएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले बताए।

कुल १३ वटा निर्माण प्याकेजमध्ये १ देखि १० सम्मका प्याकेजमा काम चलिरहेको वा कार्यान्वयनको चरणमा छ। तर, प्याकेज ११ अन्तर्गतको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण, द्रुतमार्गको सुरु विन्दु र सवारी व्यवस्थापनसम्बन्धी निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुन सकेको छैन। नेपाली सेनाका अनुसार, उक्त खण्डमा जग्गा मुआब्जा वितरणका लागि जग्गाधनीहरूसँग समन्वय भइरहेको छ र समस्याको समाधानका लागि वैकल्पिक डिजाइनको काम पनि अघि बढिरहेको छ। हालसम्म खोकना–डुकुछाप क्षेत्रमा १६० रोपनी जग्गाको मूल्य निर्धारण भई अधिग्रहण बाँकी छ भने १६५ रोपनीको मूल्य निर्धारण हुन बाँकी छ। द्रुतमार्गको सुरु विन्दु र डिजाइन परिमार्जनका आधारमा थप जग्गाको परिमाण बदलिन सक्ने गोरखापत्र अनलाइनले उल्लेख गरेको छ।

आयोजनामा सातवटा सुरुङमार्ग छन्, जसको कुल लम्बाइ १०.९७९ किलोमिटर छ। प्याकेज १ को महादेवटार सुरुङ (३.३५५ किमी) मा दायाँ टनेलको ६१ प्रतिशत (२.२९ किमी) र बायाँ टनेलको ६८ प्रतिशत (२.२८६ किमी) खन्ने काम सम्पन्न भएको छ। प्याकेज २ को धेद्रे सुरुङ (१.६९ किमी) र प्याकेज ३ को लेनडाँडा सुरुङ (१.६२२ किमी) पूर्णरूपमा खनिसकिएको छ। चन्द्रामभिर सुरुङ (२.२५ किमी) मा ९९ मिटर प्रगति भएको छ भने मौरीभिर (५८३ मिटर), देवीचौर (१ किमी) र सिसौटार (३९० मिटर) सुरुङको पोर्टल निर्माण भइरहेको बस्नेतले जनाए।

विसं २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको ढिलो प्रगति र बढ्दो लागतले समय र बजेटमा चुनौती थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?