तराई-मधेशको खानेपानी संकट समाधानमा मन्त्री प्रदीप यादवको निर्देशन
3 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण ८ गते । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेश क्षेत्रमा बढ्दो खानेपानी संकट समाधानका लागि मातहत निकायलाई तत्काल जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम (SMT) को बैठकमा मन्त्री यादवले विशेषगरी बारा र पर्सालगायत आठ जिल्लामा देखिएको गम्भीर समस्या समाधानका लागि सम्पूर्ण स्रोतसाधन परिचालन गर्न आग्रह गरे।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदो संकटलाई मध्यनजर गर्दै दातृ निकाय, अन्तर्राष्ट्रिय संस्था र छिमेकी मुलुकहरूसँग सहकार्यका लागि पत्राचार गर्नसमेत निर्देशन दिए। बैठकबाट तत्काल राहतका लागि बजेट लचिलो रूपमा प्रयोग गर्ने, आवश्यक टोली खटाउने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, र मित्रराष्ट्रहरूसँग ट्याङ्कर, बोरिङ, प्याकेज्ड पानी लगायतका राहतका कार्यक्रममा सहकार्य गर्न अर्थ मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ। मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार प्रत्येक जिल्लामा एक वरिष्ठ इञ्जिनियरसहितको टोली गठन गरिनेछ, जसले स्थलगत अध्ययन गरेर शीघ्र समाधान प्रस्ताव पेश गर्नेछ।
कमेन्ट गर्नुहोस्
view comments