तराई–मधेसमा खानेपानी संकट समाधान गर्न दुई समिति गठन, स्थलगत अनुगमन सुरू
4 दिन पहिले प्रकाशित

काठमाडौं,श्रावण ७ गते । तराई–मधेसका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले दुई छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अनुगमन सुरू गरेको छ। विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार समितिहरूलाई १० दिनभित्र समस्या अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। समितिहरू आयोजनाका निर्देशक नारायणप्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा गठन गरिएको हो।
आचार्य संयोजित समितिमा मिहिरचन्द्र आचार्य, किरण विष्ट र सुधिरकुमार साह छन् भने श्रेष्ठ संयोजित समितिमा विपुलकुमार लाल दास, प्रदीपकुमार साह र चन्द्रकुमार श्रेष्ठ सहभागी छन्। दुवै समितिलाई सम्बन्धित जिल्लाहरूमा स्थलगत अध्ययन, विश्लेषण गरी समस्याको समाधानका लागि आवश्यक सुझावसहित प्रतिवेदन तयार पार्न भनिएको छ। यस अनुगमनबाट तराई–मधेसको दीर्घकालीन खानेपानी समाधानको आधार तय हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments