भारतको आपत्ति बेवास्ता गर्दै चीन ब्रह्मपुत्रमा संसारकै ठूलो जलविद्युत आयोजना निर्माणमा
5 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण ६ गते । चीनले भारत र बंगलादेशको गम्भीर आपत्तिका बाबजुद ब्रह्मपुत्र नदी (चीनमा यार्लुङ स्याङ्पो) को तल्लो भागमा संसारकै सबभन्दा ठूलो जलविद्युत आयोजना निर्माणको थालनी गरेको छ। चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार करिब ७० हजार मेगावाट क्षमताको यस आयोजनाको औपचारिक उद्घाटन गरेका हुन्। साथसाथै उनले ‘चाइना याजियाङ ग्रुप’ नामको नयाँ विकास कम्पनीको समेत घोषणा गरेका छन्। यो आयोजना चीनको १४औँ पञ्चवर्षीय योजनामा समावेश गरिएको छ, जसले ‘थ्री गोर्जेज’ आयोजना (२२,२५० मेगावाट) लाई समेत उछिनेको छ।
भारत र बंगलादेश दुबै देशले नदीको बहाव, जैविक विविधता र सिँचाइ प्रणालीमा असर पर्ने भन्दै चिन्ता जनाउँदै आएका छन्। भारतीय संसदमा परराष्ट्र मन्त्री एस. जयशंकरले आयोजनाबारे गम्भीर चासो औपचारिक रूपमा चीनलाई दिइएको बताएका थिए। परियोजना भूकम्प जोखिमयुक्त क्षेत्रमा पर्न गएको र त्यसले विनाशकारी बाढी ल्याउने सम्भावना रहेको भन्दै भारत चिन्तित छ। चीनले भने यो ‘रन अफ द रिभर’ प्रविधिमा आधारित भएकाले तल्लो तटीय क्षेत्रमा असर नपर्ने दाबी गर्दै आएको छ। राष्ट्रपति सी चिनफिङले चीनको कार्बन उत्सर्जन घटाउने योजनाअनुसार जलविद्युतमा लगानी बढाउने नीति लिएका छन्, र यही योजनाअनुसार ब्रह्मपुत्रमा यो आयोजना अघि बढाइएको हो।
कमेन्ट गर्नुहोस्
view comments