सप्तरीमा ३८८ किलो गाँजा बरामद, एक दम्पती प्रहरी नियन्त्रणमा

7 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ५ गते । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घोमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले आइतबार ४५ वर्षीय रामकेबल मण्डलको घरमा खानतलासी गर्दा १२ वटा बोरामा राखिएको झण्डै ३८८ किलो गाँजा फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार गाँजा घरको निर्माणाधीन शौचालय, गाईगोठ र बाँसको झ्याङभित्र लुकाइएको अवस्थामा भेटिएको थियो।

विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा प्रहरीले रामकेबल मण्डलको ४१ वर्षीया श्रीमती रेखाकुमारी मण्डललाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। यो बरामदलाई हालसम्मकै एक ठूलो सफलता मानिएको छ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?