पत्नीले शराबी पतिको हत्या गरी बेडरूममा शव गाडिन्, प्रहरी थानामा आत्मसमर्पण गर्दै भनिन्- ‘मलाई पक्राउ गर’

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार ३२ गते ।  असमको राजधानी गुवाहाटीमा एक महिलाले आफ्ना शराबी पतिको दैनिक झगडा र कुटपिटबाट आजित भएर उनको हत्या गरेको घटना बाहिर आएको छ। २६ जूनको रातमा भएको झगडापछि महिलाले कथित रूपमा आफ्ना पतिको हत्या गरी बेडरूममा ४-५ फुट गहिरो खाल्डो खनेर शव गाडेकी थिइन्। मङ्गलबार प्रहरीले यो हत्याको जानकारी दिँदै महिलाले आइतबार जालुकबारी प्रहरी थानामा आत्मसमर्पण गरेको र आफ्नो अपराध स्वीकार गर्दै ‘मलाई पक्राउ गर’ भनेको बताए।

प्रहरीका अनुसार, ३८ वर्षीया रहीमा खातुनले आफ्ना ४० वर्षीय पति सबियाल रहमानको हत्या गरेकी हुन्, जो कवाडीको व्यापार गर्थे। रहीमाले प्रहरीलाई बताएअनुसार, २६ जूनको रातमा उनको पति अत्यधिक मातेर घर आएका थिए र झगडा सुरु गरे। झगडाको क्रममा आक्रोशमा आएर उनले पतिको हत्या गरिन्। उनले भनिन्, “उनी धेरै मातेर झगडा गरिरहेका थिए, त्यसैले मैले रिसमा उनलाई मारेँ।”

प्रहरीका अनुसार, रहीमाले हत्या गरेपछि आफ्नै बेडरूममा ४-५ फुट गहिरो खाल्डो खनेर शव गाडेकी थिइन्। पश्चिम गुवाहाटीका डेपुटी कमिस्नर अफ पुलिस पद्मनव बरुआले बताएअनुसार, १३ जुलाईमा रहीमा जालुकबारी प्रहरी थानामा आएर आफ्ना हराइरहेका पति सबियालको मृत्यु भएको र आफूले हत्या गरेको स्वीकार गरिन्। प्रहरी टोलीले फरेन्सिक विशेषज्ञ र मजिस्ट्रेटको उपस्थितिमा पाण्डुको जोयमती नगरस्थित उनको घरबाट सडेगलेको शव उत्खनन गर्‍यो।

प्रहरीले यो हत्यामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने शङ्का व्यक्त गरेको छ। डेपुटी कमिस्नर बरुआले भने, “एक्लै यति ठूलो खाल्डो खनेर शव गाड्न सम्भव नहुन सक्छ। हामीलाई केही सुराग प्राप्त भएको छ र हामीले अनुसन्धान जारी राखेका छौँ।”

प्रहरीका अनुसार, रहीमाले सुरुमा परिवार र छिमेकीलाई आफ्ना पति कामको लागि केरल गएको बताएकी थिइन्। उनको देवरले १२ जुलाईमा पति हराएको उजुरी दर्ता गराएपछि उनले दबाब महसुस गरिन्। त्यसपछि उनी गुवाहाटीबाट भागेर धुब्री पुगेकी थिइन्, तर प्रहरी अनुसन्धानको डरले फर्केर आत्मसमर्पण गरिन्।

रहीमा खातुनलाई पक्राउ गरी सोमबार कामरूप (मेट्रो) को मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) अदालतमा पेश गरिएको छ। प्रहरीले यो घटनाको सबै कोणबाट अनुसन्धान गरिरहेको र अन्य सम्भावित संलग्नताहरूको जाँच भइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?