मानव बेचबिखन अभियोगमा फरार महिला आठ वर्षपछि बुटवलबाट पक्राउ

2 दिन पहिले प्रकाशित

काठमाडौं, असार ३१ गते । कुवेत लैजाने भन्दै तीन नेपाली महिलालाई भारत पुर्‍याएर बेचबिखनको प्रयास गरेको आरोपमा आठ वर्षदेखि फरार रहएकी बुटवलकी एक महिला पक्राउ परेकी छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ न्यु दुर्गा नगर बस्ने ४६ वर्षीया विष्णुमाया शर्मा परियारलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सोमबार उनको घरबाटै पक्राउ गरेको हो। २०७४ साल वैशाख ७ गते रूपन्देहीकी दुई र प्यूठानकी एक महिलालाई राम्रो कामको लोभ देखाउँदै भारत पुर्‍याएर बेचबिखनको प्रयास गरिएको उजुरीका आधारमा प्रहरीले उनलाई खोजी गर्दै आएको थियो।

परियारले नेपालभन्दा भारतबाट कुवेत जान सजिलो हुने भन्दै ती महिलालाई फकाएर भारत लगेकी थिइन्। तर भारत पुगेपछि उनीहरूलाई शंका लागेपछि मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था केआई नेपालको सम्पर्कमा पुगेका थिए। त्यसपछि नेपाल प्रहरी र केआई नेपालको सहयोगमा उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याइएको थियो। पीडित महिलाहरूले परियारविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। सोमबार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला परेकी परियारमाथि हाल इलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?