संतोष कुमार मिश्रा
जनकपुरधाम, असार ३० गते । श्रावण महिनाको आरम्भसँगै देशभरका शिवालयहरूमा शिवभक्तहरूको उल्लेखनीय भीड देखिन थालेको छ। विशेषगरी श्रावण महिनाको सोमबारहरूमा भक्तजनहरूको उत्साह झनै तीव्र हुने गर्दछ। पहिलो श्रावण सोमबारमा त बिहानैदेखि स्नान गरी सफा वस्त्रमा शिवालय जानेको ओइरो लाग्ने गर्छ। भक्तजनहरू बेलपत्र, धतुरो, गंगाजल, दूध, दही, घ्यु, मह, चामलजस्ता पूजाका सामग्री लिएर भगवान शिवको आराधनामा सहभागी हुन्छन्।
जनकपुरधामको शिवचोक, कपिलेश्वर, भुतनाथ, पिपरा महादेव, विन्धीको बटेश्वरनाथ, जलेश्वर महादेवजस्ता स्थानीय शिवमन्दिरदेखि पशुपतिनाथ, हलेसी, डोलेश्वर, आराध्य शिवस्थलहरूमा पनि हजारौं भक्तजन बिहानैदेखि दर्शन र पूजाका लागि लाममा उभिएको दृश्य देख्न सकिन्छ। कतिपय श्रद्धालुहरू व्रत बसी, नाङ्गो खुट्टामा यात्रा गर्दै, विशेष आस्थाका साथ पूजा गर्न आइपुग्ने गर्छन्।
शिवालय वरपर पूजासामग्रीहरू बेच्ने व्यापारीहरूको घुँइचो, घण्टीको आवाज, मन्त्रोच्चारण, भजन-कीर्तन र आरतीले सम्पूर्ण वातावरणलाई आध्यात्मिक उर्जाले भरिदिन्छ। श्रावणको सुरुवातसँगै शिवभक्तहरूको भक्ति र श्रद्धाले मन्दिर क्षेत्र झनै जीवन्त र ऊर्जा सम्पन्न बनेको देखिन्छ। कतिपय स्थानमा त विशेष मेला पनि लाग्ने चलन रहिआएको छ।
श्रावण सोमबारको दिन विशेष पूजाविधिअनुसार पूजन गरिन्छ। बिहान स्नान गरी शुद्ध वस्त्रमा व्रत बस्ने, मनमा संकल्प गरी एक छाक खाने वा फलाहार गर्ने परम्परा छ। पूजाका लागि घरमै शिवलिङ्ग भए उत्तम मानिन्छ, नभए नजिकको शिवालय गई बेलपत्र, धतुरो, आक, पञ्चामृत, गंगाजल, अक्षता, फलफूल, धूप, दीपलगायत सामग्री लिएर पूजन गरिन्छ।
पूजाको सुरुवात स्थल शुद्धिकरण र दीप प्रज्वलनबाट हुन्छ। दाहिने हातमा अक्षता लिएर "श्री शिवाय नमः, मम सर्वपापक्षयपूर्वकं सोमव्रतं करिष्ये" भन्ने संकल्प गरी पूजा थालनी गरिन्छ। गंगाजल र पञ्चामृतले शिवलिङ्गलाई स्नान गराइन्छ, त्यसपछि बेलपत्र, धतुरो, फूल, चन्दन, अक्षता र धूप-दीप अर्पण गरिन्छ। ‘ॐ नमः शिवाय’ मन्त्र १०८ पटक जप गर्न र महा मृत्युंजय मन्त्रको उच्चारण गर्न सकिन्छ।
आरतीपश्चात प्रसाद वितरण र व्रत समापन गरिन्छ। व्रत बस्ने भक्तजनले दिनभर फलाहार गरी साँझमा शिवको स्मरण गर्दै भोजन गर्छन्। श्रावण सोमबारको यस धार्मिक अभ्यासले न केवल श्रद्धा प्रकट गर्छ, तर सामाजिक र आध्यात्मिक एकताको सन्देश पनि फैलाउँछ। यसरी श्रावण महिनाभरि देशभर शिवभक्तहरूको आस्था र पूजा विशेष रूपले देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments