"मधेशका २२ जिल्लामा जल संकटको खतरा, चुरे संरक्षणमा ध्यान दिन पूर्व उपप्रधानमन्त्री निधिको आग्रह"
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार २९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले चुरे क्षेत्रको संरक्षणमा सरकार र नागरिक दुवैले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उनले मधेशका २२ जिल्लामा भूमिगत जलको स्तर दिनप्रतिदिन घट्दै गएकाले आगामी दिनमा गम्भीर जल संकटको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिए।
शनिबार जनकपुरधामस्थित श्री धर्म संस्थाको १२औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेता निधिले अहिले गर्मी याममा चप्पाकल सुक्ने, खानेपानीको हाहाकार हुने स्थिति उत्पन्न भइसकेको भन्दै वृक्षारोपण र चुरे संरक्षणको कामलाई तत्काल तीव्र बनाउनुपर्नेमा जोड दिए। उनले खनेपानी र सिचाइका लागि पानीको अभाव बढ्दै गइरहेकाले संघ, प्रदेश र स्थानीय सरकार सबै तह मिलेर समाधान खोज्नुपर्ने बताए।
पूर्व उपप्रधानमन्त्री निधिले मधेश प्रदेश सरकारले प्रदेशलाई सूखाक्षेत्र घोषणा गरिसकेको जानकारी आफूलाई प्राप्त भएको उल्लेख गर्दै चुरे विनाशकै कारण तराई–मधेशमा पानीको स्रोत सुक्दै गएको टिप्पणी गरे। भूमिगत जलको स्रोत संरक्षण नगर्ने हो भने भविष्यमा मधेशमा गम्भीर मानवीय संकट निम्तिन सक्ने उनको भनाइ थियो।
त्यसै अवसरमा उनले रामस्वरुप साह र रामसागर साहद्वारा स्थापना गरिएको श्री धर्म संस्थाले मधेशको शिक्षा र सामाजिक परिवर्तनमा पुर्याएको योगदानको प्रशंसा गरे। संस्थाले दशकौंअघिदेखि धर्म, शिक्षा र समाज सुधारमा खेलेको भूमिकालाई स्मरण गर्दै उनले समाज रुपान्तरणमा यस्ता संस्थाको महत्व अझ बढेको बताए।
पर्यटन प्रवर्धनतर्फ संकेत गर्दै निधिले जनकपुरधाम र भारतको अयोध्याधामबीच सिधा सम्पर्क स्थापना भएमा भारतीय पर्यटकको आगमन बढ्ने र यसले नेपालको पर्यटन तथा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कार्यक्रममा कमला बचाऊ अभियानका संयोजक विक्रम यादवलाई विशेष सम्मान गरिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments