सांसद उपेन्द्र महतोको सरकारलाई कटाक्ष : ‘बजेट फिड द नेशन होइन, फिड द मिनिस्टर’
16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ३० गते । सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद उपेन्द्र महतोले सरकारको बजेटलाई तीव्र आलोचना गरेका छन्। सोमबार संसद्मा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारलाई समर्थन दिएपछि आफूहरूलाई "गुलाम" बनाइएको गुनासो गरे। "हेर्नेसम्म नपाएका योजना कसरी छलफल गर्ने?" भन्दै उनले सरकारले बहुमतको बलमा जनप्रतिनिधिमाथि दबाब सिर्जना गरेको बताए। बिचौलियाको प्रभावमा बजेट बनेको आरोप लगाउँदै उनले जनमत पार्टीका अध्यक्षकै निर्वाचन क्षेत्रमा ११५ करोड रुपैयाँको योजना गएको प्रसंग उठाए।
सांसद महतोले सरकारको बजेट घाटामुखी रहेको र यसले प्रदेशलाई थप चुनौती दिएको टिप्पणी गरे। उनले आम्दानीभन्दा धेरै खर्च गर्ने प्रवृत्ति आपत्तिजनक भएको भन्दै बजेटलाई "आम्दानी अठन्नी, खर्च रुपैयाँ"को संज्ञा दिए। कृषिमा नाराबाजी मात्रै गरिएको भन्दै "उत्पादन मधेशमा, निर्यात देशमा" जस्ता नारा बजेटको वास्तविक आधारविहीन भएको बताए। "जम्मा तीन अर्बको बजेट ल्याएर 'फिड द नेशन' भन्नु हास्यास्पद छ," भन्दै उनले तीतो व्यङ्ग्य गरे— "यो त 'फिड द मिनिस्टर क्याम्पेन' हो।"
कमेन्ट गर्नुहोस्
view comments