जनकपुरमा ससुराको हत्या गर्ने ज्वाइँ खजुरीबाट पक्राउ

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २५ गते । जनकपुरधाममा आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गरेर फरार रहेका अभियुक्त ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई असार २४ गते साँझ जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको जानकारी दिएको छ।

२०८२ साल असार १८ गते बिहान करिब ९ः३० बजे जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय बासुदेव प्रसाद साहलाई पारिवारिक रिसीवीका कारण आफ्नै ज्वाइँ महासेठले पेट लगायत शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी फरार भएका थिए। घाइते अवस्थामा अस्पताल पुर्‍याइएका बासुदेवलाई उपचारको क्रममा बिहान १०ः३० बजे मृत घोषणा गरिएको थियो।

प्रहरीका अनुसार मृतककी श्रीमती सैलदेवी साहको जाहेरीका आधारमा घटनाको अनुसन्धान अघि बढाइएको हो। जाहेरीमा ससुराको हत्या आफ्नै ज्वाइँ बेचन महासेठले पारिवारिक विवादकै कारण चक्कु प्रहार गरेर गरेको उल्लेख गरिएको छ।

धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी चलाइएको खोजी अभियानपछि प्रहरीले खजुरी रेल्वे स्टेशनबाट अभियुक्तलाई नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले असार १८ गते हत्या प्रयुक्त चक्कु घटनास्थल नजिकैबाट बरामद गरेको जनाएको छ। साथै अभियुक्तले प्रयोग गरेको मधेश प्रदेश ०२–००७ प ९९३२ नम्बरको स्कुटर पनि फेला परेको छ।

हाल घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउपछिको विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?