बिहार चुनाव पूर्व नीतीश सरकारको नयाँ निर्णय: 'युवा आयोग' गठनको घोषणा

7 घन्टा पहिले प्रकाशित

एजेन्सी,असार २४ गते । बिहारका मुख्यमन्त्री नीतीश कुमारले आउँदो विधानसभा चुनावलाई लक्षित गर्दै युवाहरुलाई आकर्षित गर्न ठूलो निर्णय लिएका छन्। मंगलबार पटनामा बसेको मन्त्रिपरिषद् बैठकले ‘बिहार युवा आयोग’ गठनको स्वीकृति दिएको छ।

मुख्यमन्त्री कुमारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै लेखेका छन्, "बिहारका युवाहरूलाई रोजगार, तालिम, सशक्तिकरण तथा क्षमता विकासका अवसर प्रदान गर्ने उद्देश्यले राज्य सरकारले युवा आयोग गठनको निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकबाट यसको स्वीकृति पनि दिइएको छ।"

आयोगमा एक अध्यक्ष, दुई उपाध्यक्ष र सात सदस्य रहनेछन्। सदस्यहरूको अधिकतम उमेर ४५ वर्ष तोकिएको छ। आयोगले स्थानीय युवालाई निजी क्षेत्रमा रोजगारीमा प्राथमिकता मिलोस् भन्ने सुनिश्चित गर्नेदेखि बाहिरी राज्यमा अध्ययन वा काम गर्ने युवाको हकहितको रक्षा गर्ने जिम्मेवारी पाउनेछ।

मुख्यमन्त्रीले आयोगको भूमिकालाई समाजमा युवा उत्थान, समन्वय, शिक्षा र रोजगार सुनिश्चित गर्ने सल्लाहकार निकायको रूपमा परिभाषित गरेका छन्। साथै, आयोगले मादक पदार्थको दुरुपयोग तथा सामाजिक विकृतिविरुद्ध चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नेछ। नीतीशले यो पहललाई युवालाई आत्मनिर्भर, दक्ष र भविष्य सुरक्षित बनाउने दूरदर्शी कदमको रूपमा व्याख्या गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?