पटना व्यवसायी तथा बीजेपी नेताको गोली हानी हत्या, राहुल गान्धीद्वारा नीतीश सरकारमाथि कडा प्रहार

20 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २२ गते ।  चुनावी राज्य बिहारको राजधानी पटनामा एक ठूलो व्यापारी तथा भारतीय जनता पार्टी (बीजेपी) नेता गोपाल खेमकाको हत्या भएपछि सम्पूर्ण बिहार त्रसित बनेको छ। ४ जुलाईको राती उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो। उक्त घटना पटनाको गान्धी मैदान क्षेत्रस्थित उनको निवास अगाडि घटेको हो।

घरको बाहिरै हत्या भएपछि विपक्षी दलहरूले तत्कालै नीतीश कुमार नेतृत्वको सरकारलाई घेराबन्दी गर्न थालेका छन्। कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले पनि यस घटनाप्रति चिन्ता व्यक्त गर्दै बिहारमा कानुन व्यवस्था पूर्णरूपमा धराशायी भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भने, “गोपाल खेमकाको हत्या फेरि एक पटक प्रमाणित गर्छ कि बीजेपी र नीतीश कुमारले मिलेर बिहारलाई ‘भारतको अपराध राजधानी’ बनाएका छन्।”

राहुल गान्धीले आफ्नो पोस्टमार्फत थपे, “आजको बिहार लूट, गोली र हत्याको छायाँमा बाँच्छ। अपराध यहाँ नयाँ सामान्य अवस्था बनेको छ र सरकार पूर्णरूपमा असफल भएको छ।” उनले बिहारी जनतालाई अपील गर्दै भने, “अब अन्याय सहनु सकिँदैन। जो सरकार तपाईँको बच्चाहरूको सुरक्षा गर्न सक्दैन, त्यसले भविष्यको जिम्मेवारी कसरी लिन्छ? प्रत्येक हत्या, लूट र गोली परिवर्तनको पुकार हो। अब नयाँ बिहार बनाउने समय आएको छ, जहाँ डर होइन, विकास होस्।”

खेमकाको हत्या सँग सम्बन्धित अर्को दुःखद पक्ष के हो भने, उनका छोरा गुंजन खेमकाको पनि ६ वर्षअघि यस्तै शैलीमा हत्या गरिएको थियो। त्यतिबेला पनि उनीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो।

बिहार प्रहरीका महानिरीक्षक (DGP) विनय कुमारका अनुसार, घटनाको गम्भीरताका आधारमा विशेष अनुसन्धान टोली (SIT) गठन गरिएको छ। यस टोलीको नेतृत्व एसपी सिटी सेन्ट्रलले गरिरहेका छन्। प्रहरीले अपराधीहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?