अदालतको कडा फैसला: नक्कली डाक्टरलाई २ वर्ष कैद र ४ हजार जरिवाना
2 दिन पहिले प्रकाशित

एजेन्सी,असार १५ गते । मध्यप्रदेशको रतलामस्थित एक अदालतले डाक्टरी डिग्री बिना क्लिनिक सञ्चालन गरिरहेको पाइएको एक नक्कली डाक्टरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। साथै उसलाई ४ हजार रुपैयाँ जरिवाना पनि गरिएको छ। उक्त फैसला ११ वर्ष पुरानो एक मुद्दामा पहिलो श्रेणीका न्यायिक दण्डाधिकारी अरुण सिंह ठाकुरद्वारा सुनाइएको हो।
घटना सन् २०१४ को जनवरी १७ तारिखको हो। त्यतिबेला रतलामका तत्कालीन सीएमएचओ डा. पुष्पेन्द्र शर्मा र स्वास्थ्य अधिकारी जी.आर. गौडको टोलीले सातरूंडा चौराहामा रहेको एक क्लिनिकको अनुगमन गर्दा धीरजसिंह नामक व्यक्ति बिना डिग्री उपचार गरिरहेको फेला परेका थिए। क्लिनिकमा कुनै बोर्ड थिएन र उसले दुई बिरामीलाई स्लाइन चढाइरहेको अवस्थामा भेटिएको थियो। जब उसलाई डिग्री देखाउन भनियो, उसले बीए दोस्रो वर्षको मार्कशीट देखाएको थियो।
अनुगमन टोलीले क्लिनिकबाट एलोप्याथिक औषधिहरू जफत गरेको थियो र क्लिनिकलाई सिलबन्दीसमेत गरिएको थियो। त्यसपछि धीरजसिंहविरुद्ध मध्यप्रदेश आयुर्विज्ञान परिषद अधिनियम, १९८७ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। सरकारी पक्षबाट सहायक जिला लोक अभियोजन अधिकारी विजेन्द्रसिंह गेहलोतले मुद्दाको वकालत गरेका थिए।
अदालतले निर्णय सुनाउँदै भन्यो, "बिना डिग्री उपचार गर्नु निर्दोष जनताको जीवनसँग खेलवाड हो र यस्ता गतिविधिहरू समाजमा बढ्दो छ। जनताको सुरक्षाका लागि यस्ता अपराधीहरूलाई कडा सजाय जरुरी छ।" सबै प्रमाण र साक्ष्यको आधारमा अदालतले आरोपी धीरजसिंहलाई दुई वर्ष जेल सजाय र ४ हजार रुपैयाँ जरिवानाको आदेश दिएको हो।
कमेन्ट गर्नुहोस्
view comments