पूर्वप्रधानमन्त्री माधव नेपाल ३५ लाख धरौटीमा रिहा, पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतको आदेश
5 दिन पहिले प्रकाशित

काठमाडौं, असार १२ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बुधबार बिहान अदालतमा उपस्थित भई बयान दिएका नेपालमाथि थुनछेक बहस चलेपछि न्यायाधीश तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। नेता नेपालले आदेश अनुसार धरौटी बुझाएपछि बुधबारै छुट्ने भएका छन्।
नेपालमाथि पतञ्जली योग पिठ र आयुर्वेदिक कम्पनीको नाममा रहेको काभ्रेको हदबन्दी छुटको जग्गा किनबेचमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनासहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले नेता नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो माग गर्दै पुर्पक्षका लागि थुनामा पठाउन माग गरेको थियो। तर नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाललगायतले उनलाई निर्दोष भन्दै धरौटीमा रिहा गर्न माग गरेका थिए। अदालतको आदेशपछि नेपाल धरौटीमा रिहा भए पनि मुद्दा अझै बाँकी छ। यस मुद्दा दर्ता भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। नेता नेपालको पार्टीले यो कार्यलाई प्रधानमन्त्री ओलीको 'इशारा'मा भएको राजनीतिक प्रतिशोध भनेको छ।
कमेन्ट गर्नुहोस्
view comments