दैलेखको पेट्रोलियम: ११२ अर्ब घनमिटर मिथेन ग्यासको प्रारम्भिक रिपोर्ट, विज्ञ भन्छन् – उत्साहजनक तर निर्णयमा हतार नगर्नु उचित

8 दिन पहिले प्रकाशित

काठमाडौं, असार १० गते । दैलेखमा पेट्रोलियम पदार्थको भण्डारणको सम्भावना पुष्टि गर्दै चीन सरकारको सहयोगमा गरिएको अन्वेषणको प्रारम्भिक प्रतिवेदनले ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको देखाएको छ। यो विवरण प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा उल्लेख गरेपछि यसले चर्चा पाएको हो। खानी तथा भूगर्भ विभागका उप-महानिर्देशक तथा परियोजना प्रमुख दिनेश नापितका अनुसार यो तथ्यांक अनुमानमा आधारित नभई चट्टानका नमूनाको परीक्षणबाट प्राप्त गणितीय नतीजा हो। परीक्षणका लागि ४ हजार मिटरभन्दा बढी ड्रिलिङ गरी सङ्कलित नमूनाहरू चीन लगिएको थियो।

यद्यपि, भूगर्भविद्हरूले प्रारम्भिक विवरणलाई उत्साहजनक भने पनि अहिले नै यसको परिमाण, व्यावसायिक उपयोगिता वा आर्थिक मूल्याङ्कनमा निष्कर्ष निकाल्न हतार गर्नु नहुने सुझाव दिएका छन्। उनीहरूका अनुसार वेल टेस्टिङ नभएसम्म ग्यासको वास्तविक आयतन, चाप, र रिकभरी दर पुष्टि हुँदैन। यसका लागि ठुलो बजेट र प्रविधि आवश्यक पर्छ, जसका लागि पुनः चीनसँग सहयोग माग्ने तयारी सरकारले गरिरहेको छ।

हाल उपलब्ध मिथेन ग्यास खाना पकाउने, गाडी चलाउने, बिजुली उत्पादन गर्ने, वा एलएनजीको रूपमा तरल बनाएर भण्डारण तथा वितरण गर्न सकिने सम्भावना देखिएको छ। तर यस्ता प्रयोगका लागि आवश्यक पूर्वाधार निर्माण, प्राविधिक दक्षता, र लगानीको विषयमा अझ धेरै तयारी आवश्यक छ। परियोजना प्रमुख नापितका अनुसार वेल टेस्टिङको काम सन् २०२५ को अन्त्यसम्म सकिने लक्ष्यसहित अगाडि बढाइएको छ, जसपछि मात्र पूर्ण विवरण प्राप्त हुनेछ।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?