सामाजिक सञ्जाललाई पत्रकारिताको प्लेटफर्मको मान्यता, कानुनी संरचना माग गर्दै महासंघको निर्णय

10 दिन पहिले प्रकाशित

काठमाडौं, असार ८ गते । नेपाल पत्रकार महासङ्घले युट्युबलगायत सामाजिक सञ्जालमार्फत भइरहेको पत्रकारिता अभ्यासलाई औपचारिक रूपमा पत्रकारिता पेशाकै अंगको रूपमा मान्यता दिएको छ। पोखरामा सम्पन्न महासङ्घको तेस्रो बैठकले इन्टरनेट र प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाहमा आएको आमूल परिवर्तनलाई स्वीकार गर्दै डिजिटल माध्यमलाई राज्यको मापदण्ड, कानुनी संरचना र नियमन प्रणालीमा ल्याउनुपर्नेमा जोड दिएको हो। महासचिव रामप्रसाद दाहालका अनुसार यस्ता डिजिटल प्लेटफर्महरूलाई दर्ता, मान्यता, प्रशिक्षण, आचारसंहिता, श्रम अधिकार र सामग्री नियमनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

बैठकमा केन्द्रीय सदस्य लवदेव ढुडगानाले अनलाइन टिभी पत्रकारिता र एआईको प्रयोगसमेत व्यवस्थित गर्नुपर्ने लिखित प्रस्ताव राखेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा स्वीकार गरेको हो। अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले महासङ्घको निर्णयलाई ऐतिहासिक र अग्रगामी कदमको रूपमा स्वागत गर्दै कार्यान्वयनमा ध्यान दिन आग्रह गरे। महासङ्घले पत्रकार सुरेश रजकको हत्या, पत्रकारमाथि आक्रमण, तथा श्रमजीवी पत्रकारको पारिश्रमिक कटौतीजस्ता विषयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकार सुरक्षा नीति तुरुन्त कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ। साथसाथै, मिडिया काउन्सिल विधेयक तथा सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुनहरू बिना पर्याप्त छलफल अघि नबढाउन चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?