दैलेखमा मिथेन ग्यासको प्रगति देखेर खुसी भए प्रधानमन्त्री ओली

12 दिन पहिले प्रकाशित

काठमाडौं,असार ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो कार्यकालमा सम्भाव्यता अध्ययन गराएका दैलेखको पेट्रोलियम पदार्थ खानीको प्रगति देखेर खुसी व्यक्त गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत त्यसबेलाका दिनहरू सम्झिँदै ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि आफ्नो सन्तोष प्रकट गरेका थिए।

चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको उल्लेख गरिएको थियो। विज्ञहरूका अनुसार यो ग्यास स्रोतलाई उपयोग गर्न सकिएमा नेपाललाई करिब ५० वर्षसम्म ऊर्जा आपूर्ति सम्भव हुने बताएका थिए।

प्रधानमन्त्री ओलीको २०७२ साल चैतको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्न द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो। त्यसपछि २०७५ माघमा चीनलाई दैलेखको विस्तृत अन्वेषणको जिम्मा दिने निर्णय गरिएको थियो। ओलीले फेसबुकमार्फत लेख्दै समर्थन र विरोधका स्वरबीच अघि बढाइएको प्रयासले आज सकारात्मक संकेत दिएको बताएका थिए।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?