इजरायल–इरान युद्धका बीच पाँच सय नेपालीको उद्धार माग, नेपाल सरकार तयारीमा
12 दिन पहिले प्रकाशित

काठमाडौं,असार ६ गते । इजरायलमा रहेका करिब पाँच सय नेपालीले युद्धको जोखिमका बीच नेपाल फर्कन चाहेका छन्। इजरायल–इरान तनाव चर्किएपछि परराष्ट्र मन्त्रालयले मंगलबार वेबसाइटमार्फत सार्वजनिक गरेको फाराम भरेर बिहीबार साँझसम्म ४८५ नेपालीले उद्धारको लागि विवरण पठाएका हुन्। प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इजरायलमा करिब ७ हजार नेपाली रहेका छन् भने इरानमा १७ जना छन्। सरकारले जोखिममा रहेका नेपालीको उद्धारका लागि आवश्यक तथ्यांक संकलन गर्दै अन्तर्राष्ट्रिय सहयोगसमेत माग गरिरहेको जनाएको छ।
युद्धका कारण इजरायल र इरान दुवैमा हवाई सेवा बन्द हुँदा उद्धार चुनौतीपूर्ण बनेको छ। कतिपय मुलुकले आफ्ना नागरिकको उद्धार सुरु गरिसकेका छन् भने नेपालले पनि वैकल्पिक मार्ग र सहकार्यका सम्भावना खोजिरहेको छ। कतारस्थित नेपाली दूतावासले इरानबाट नेपाली उद्धारबारे यूएई, इरानी दूतावास र अन्य निकायसँग छलफल थालिसकेको जनाएको छ। उता, इजरायलस्थित नेपाली दूतावासका अनुसार दीर्घकालीन रुपमा बसेका नेपालीमा उद्धारको माग खासै नभएको तर नयाँ पुगेकाहरू फर्कन चाहेका छन्। जोर्डन सरकारसँग समन्वय गरी स्थल मार्गमार्फत उद्धारको प्रयास भइरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments