इन्स्टाग्राममा 'सचिन' बनेर प्रेमजालमा पार्ने युवक पक्राउ, विवाहपछि जबरजस्ती धर्म परिवर्तनको दबाब
2 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ २८ गते । उत्तर प्रदेशको मेरठमा ‘लभ जिहाद’ सम्बन्धी एउटा गम्भीर घटना सार्वजनिक भएको छ। मेरठ प्रहरीका अनुसार, एक युवतीलाई इन्स्टाग्राममार्फत 'सचिन' नामले परिचय दिई प्रेमजालमा पारेर विवाह गर्ने र पछि धर्म परिवर्तनको दबाब दिने आरोपी मुबस्मीरलाई पक्राउ गरिएको छ। पीडित युवतीको उजुरीका आधारमा आरोपीविरुद्ध मेरठको लिसाड़ी गेट थाना र गौतमबुद्धनगरको सूरजपुर थानामा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ।
पीडित युवती बरेलीकी स्थायी बासिन्दा हुन् र अहिले गौतमबुद्धनगरको सूरजपुर क्षेत्रमा बसोबास गर्छिन्। उनका अनुसार पाँच वर्ष अघि इन्स्टाग्राममार्फत ‘सचिन’ नामक युवासँग उनको चिनजान भएको थियो। केही समयपछि उनीहरूबीच निकटता बढ्यो र गौतमबुद्धनगरकै एउटा मन्दिरमा विवाह गरे।
तर विवाहपछि युवकको वास्तविकता खुल्न थाल्यो। युवक मेरठको मुबस्मीर भन्ने खुल्यो। युवतीको आरोप छ— विवाहपछि मुबस्मीरले उसमाथि धर्म परिवर्तनको दबाब दिन थाले र शारीरिक तथा मानसिक रूपमा यातना दिन थाल्यो। अनुसन्धानबाट मुबस्मीरले यसअघि पनि यस्तै शैलीमा तीन हिन्दू युवतीहरूसँग झूटो परिचय दिई विवाह गरिसकेको खुलासा भएको छ।
पीडित युवतीको उजुरीपछि मेरठको लिसाड़ी गेट थानामा मुद्दा दर्ता गरियो र मंगलबार प्रहरीले मुबस्मीरलाई उसको घरबाट पक्राउ गर्यो। साथमा उसको मोबाइल पनि बरामद गरिएको छ, जसको अनुसन्धान भइरहेको छ। गौतमबुद्धनगरको सूरजपुर थाना प्रहरीले पनि छुट्टै उजुरीको आधारमा मुद्दा दर्ता गरी आरोपीलाई आफ्नो कस्टडीमा ल्याउने प्रयास गरिरहेको छ। हाल मेरठ प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराएको छ।
मेरठका एसपी सिटी आयुष विक्रम सिंहले भने, “मुबस्मीरले झूटो नाम राखी युवतीलाई धोका दिई विवाह गरेको र विवाहपछि धर्म परिवर्तनको दबाब दिएको पुष्टि भएको छ। आरोपमा मुद्दा दर्ता गरी पक्राउ गरिएको छ र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।”
प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments