विवाहितामाथि दहेजको नाममा किड्नी माग, ससुराली पक्षविरुद्ध उजुरी
23 घन्टा पहिले प्रकाशित

एजेन्सी, जेठ २७ गते । बिहारको मुजफ्फरपुर जिल्लाबाट एक अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ एक विवाहिताले दहेजस्वरूप आफ्नै पतिलाई किड्नी दिन दबाब दिएको आरोप लगाएकी छिन्। पीडित दीप्तिका अनुसार, सुरुमा ससुराली पक्षले पैसा र मोटरसाइकलको माग गरेपछि त्यसैलाई लिएर मानसिक तनाव दिइयो। पछि दहेज दिन नसकेमा पतिलाई आफ्नो किड्नी दान गर्नुपर्ने दबाब दिन थालिएको उनले बताएकी छन्।
विवाहपछि केही समय सब ठिक भए पनि केही महिनापछि ससुराली पक्षको व्यवहार परिवर्तन भएको दीप्तिको भनाइ छ। दुई वर्षपछि मात्र उनलाई थाहा भयो कि उनका पतिको एउटा किड्नी बिग्रिएको छ। त्यसपछि ससुराली पक्षले दवाब दिन थाले, "दहेज दिन सक्दिन भने किड्नी दे।" जब उनले त्यसको विरोध गरिन्, उनलाई कुटपिट गरियो र घरबाट निकालियो।
पीडित दीप्तिले माइती गएर महिला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन्। प्रहरीद्वारा दर्ता गरिएको मुद्दा (केस नं. ३८/२५) अन्तर्गत उनका पति र ससुराली पक्षका तीनजना गरी चारजनामाथि आरोप लागेको छ। ग्रामीण एसपी विद्यासागरका अनुसार, घटना मिठनपुरा थाना क्षेत्रअन्तर्गत पर्छ र हाल अनुसन्धान जारी छ।
कमेन्ट गर्नुहोस्
view comments