गोडैता जातीय-धार्मिक घटना: जनमत पार्टीको तीव्र विरोध, दोषीलाई कारबाहीको माग

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, जेठ २६ गते । जनमत पार्टी सर्लाहीले हालै गोडैता नगरपालिकामा घटेको जातीय र धार्मिक तनावसँग सम्बन्धित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीव्र विरोध जनाएको छ।सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीले उक्त घटनालाई समाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वमा आघात पुर्‍याउने निन्दनीय तथा भर्त्सनायोग्य कार्य भएको उल्लेख गर्दै यसमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा बलिदान दिएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सर्लाही क्षेत्र नं. ४ मा जातीय, सामुदायिक तथा धार्मिक विभाजन सृजना गरी राजनीतिक लाभ लिने अस्वस्थ प्रवृत्तिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।"गोडैता नगरपालिकास्थित हुलाकी सडकमा भएको पछिल्लो घटनाबाट समाजमा डर र द्वन्द्वको वातावरण सिर्जना गर्ने प्रयास भएको प्रस्ट देखिन्छ," विज्ञप्तिमा भनिएको छ, "शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका मुद्दाबाट जनताको ध्यान मोडेर तनाव सृजना गर्नु दुःखद विषय हो।"

जिल्ला इन्चार्ज श्रीचन यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी संलग्नहरूलाई कानूनअनुसार कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ।पार्टीले समाजमा राजनीतिक द्वन्द्व होइन, शान्ति, सद्भाव र समावेशी विकास आवश्यक भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन भविष्यमा सशक्त प्रतिवाद गरिने चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?