ह्वावे नेपालले विश्व वातावरण दिवसमा सुरु गर्यो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्क
3 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २६ गते । विश्व वातावरण दिवस २०२५ को अवसरमा, ह्वावे नेपालले फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ। गाडी चार्ज प्रा.लि. र नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) सँगको सहकार्यमा, ह्वावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशन उद्घाटन गरेको छ। यसले २०२५ भित्र देशव्यापी चार्जिङ्ग नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको छ, जसले नेपालमा हरित मोबिलिटी र वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्दै यसलाई नेपालको इलेक्ट्रिक भेइकल चार्जिङ क्षेत्रमा महत्वपूर्ण विकास करार दिए। योजना अनुसार २०२५ को अन्त्यसम्ममा थप नौ स्थानमा स्मार्ट चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याइनेछ।
फ्युजन चार्ज प्रविधिले फोटोभोल्टिक्स र ऊर्जा भण्डारण प्रणालीलाई एकीकृत गरी विद्युत ग्रिड मैत्री, ५०० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङ सम्भव बनाउँछ। यसको मोड्युलर डिजाइनले दीर्घकालीन सेवा र सजिलो अपग्रेड सुविधा प्रदान गर्दछ। साथै, यसले उच्च तापक्रममा पनि सुरक्षित चार्जिङ सुनिश्चित गर्दै विभिन्न सेटिङहरूमा सहज उपयोग प्रदान गर्ने बताइएको छ।
कम्पनीले यस प्रविधिलाई स्मार्ट ऊर्जा व्यवस्थापन र मर्मत सम्भारको लागि अत्याधुनिक समाधान भएको जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments