जनकपुरमा मैथिली भवन उद्घाटन, देउवाको प्रदेश नामकरणप्रति असन्तुष्टि
18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २३ गते । जनकपुरधाम उपमहानगरपालिका–८ बलवाटोलमा निर्मित भव्य मैथिली भवनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन्। उद्घाटन समारोहमा बोल्दै देउवाले मधेश प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै ‘जनक’ वा ‘जानकी’ नाम उपयुक्त हुने धारणा व्यक्त गरे। जनकपुरधामलाई राजा जनक र जानकीको पवित्र भूमि ठहर गर्दै उनले राजा जनक सानो राजा नभई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित पात्र रहेको उल्लेख गरे।
मैथिली भवन प्रदेश सरकारको लगानीमा मैथिली विकास कोषमार्फत ७ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। पाँच कट्ठा क्षेत्रफलमा फैलिएको यस भवनमा सांस्कृतिक सङ्ग्रहालय, मिथिला चित्रकला प्रशिक्षण केन्द्र, पुस्तकालय, श्रव्यदृश्य कार्यकक्ष, प्रदर्शनी कक्ष र सेमिनार हलजस्ता आधुनिक सुविधा समेटिएका छन्। देउवाले यसअघि पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेशमा चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी पनि गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments