उपराष्ट्रपति यादवद्वारा वातावरणमैत्री प्रविधि र सहकार्यमा जोड, प्लास्टिक प्रदूषण अन्त्यको आह्वान
2 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २२ गते । विश्व वातावरण दिवस २०२५ का अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकास सुनिश्चित गर्न वातावरणीय प्रदूषण न्यूनीकरण र वातावरणमैत्री प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका छन्। शुभकामना सन्देशमार्फत उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँको मात्रा घट्दै गएको, वन विनाशका कारण जैविक विविधतामा संकट उत्पन्न भएको तथा जलस्रोतको दुषित अवस्थाले खानेपानी अभाव सिर्जना गरेको उल्लेख गरे। साथै, अतिवृष्टि, अनावृष्टि, सुक्खा र खडेरीका घटनाले जलवायु संकट गहिरिँदै गएको भन्दै चुरे क्षेत्रको विनाश, वायु प्रदूषण र भूगर्भीय पानीको घट्दो मात्रा गम्भीर चिन्ताको विषय भएको औँल्याए।
उपराष्ट्रपति यादवले वातावरण संरक्षण सरकारको मात्र नभई सबै नागरिकको साझा कर्तव्य भएको बताउँदै, युवाहरूको सक्रिय सहभागिता विशेष रूपमा महत्वपूर्ण रहेको धारणा राखे। उनले वृक्षरोपण, पानी तथा ऊर्जाको बचत, वातावरणमैत्री प्रविधिको प्रयोग र सामुदायिक सहकार्यलाई प्रोत्साहन गर्न आग्रह गरे। यस वर्षको वातावरण दिवस ‘प्लास्टिक प्रदूषणको अन्त्य’ भन्ने नारासहित मनाइँदैछ, जसअनुसार उपराष्ट्रपतिले नवीकरणीय ऊर्जा प्रवर्द्धन, जैविक विविधता संरक्षण र प्रदूषण नियन्त्रणका लागि सबै पक्षको संयुक्त पहल अपरिहार्य रहेको दोहोर्याए।
कमेन्ट गर्नुहोस्
view comments