सार्वजनिक यातायात अवरुद्ध भएपछि यात्रुको सहजताका लागि नेपाल प्रहरीद्वारा दुई बस सञ्चालन
3 महीना पहिले प्रकाशित

काठमाडौँ, जेठ १९ गते । सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनका कारण सोमबार देशभर सार्वजनिक सवारी सेवा ठप्प भएपछि नेपाल प्रहरीले यात्रुको सहज आवागमन सुनिश्चित गर्न दुई वटा बस सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरीले सञ्चालनमा ल्याएका बसमा यात्रुले कुनै भाडा तिर्नु नपर्ने व्यवस्था गरिएको छ। यी बसहरू दुई भिन्न रूटमा सञ्चालन गरिएका छन्, जसले राजधानीका प्रमुख क्षेत्रहरूलाई जोड्नेछ।
पहिलो बस रूट नक्सालबाट सुरु भएर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै पुनः नक्साल फर्किन्छ। दोस्रो रूट नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक हुँदै फर्केर चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटारमार्फत नक्साल पुग्नेछ। यातायात व्यवसायीहरूले गण्डकी प्रदेशको राइड सेयरिङसम्बन्धी नियमावली खारेजीसहित सात बुँदे माग राख्दै सार्वजनिक सेवा बन्द गरेका हुन्।
कमेन्ट गर्नुहोस्
view comments