“बालविवाहको अन्त्यका लागि कानुन मात्रै काफी छैन” – मन्त्री नवलकिशोर साह

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मधेसमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाहको अन्त्यका लागि केवल कानुनी प्रावधान पर्याप्त नहुने बताएका छन्। आइतबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय छलफलमा बोल्दै उनले सामाजिक र सांस्कृतिक रूपमा बालविवाहलाई स्वीकार गर्ने प्रवृत्तिका कारण कानुन कार्यान्वयनमा कठिनाइ आएको उल्लेख गरे। मन्त्री सुडीले संसदमा विवाहको कानुनी उमेर २० बाट घटाएर १८ वर्ष बनाउने विधेयक पेस गरिएको जानकारी दिँदै, उमेर घटाउनु मात्र समस्याको समाधान नहुने स्पष्ट पारे।

उनले बालबालिकाको भविष्य उज्ज्वल बनाउन शिक्षामा पहुँच, सुरक्षित वातावरण र अवसरहरूको सुनिश्चिततामा जोड दिनुपर्ने बताए। मन्त्री साहका अनुसार बालविवाहविरुद्धको अभियान सफल पार्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ। सरकारको चाहना बालबालिकाहरू सडकमा हैन, संरक्षण र सम्भावनाको दायरा भित्र रहून् भन्ने रहेको भन्दै उनले सातै प्रदेशमा पुगेर सुझाव संकलन गरी विधेयक संसदमा दर्ता गरिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?