प्रधानमन्त्री ओलीद्वारा मधेशमा एकैपटक ६४ सडक शिलान्यास, १२७० करोडको परियोजना अघि बढ्ने
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १८ गते । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आईतवार मधेश प्रदेशको राजधानी जनकपुरधाममा एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्न गइरहेका छन्। डिजिटल प्रविधीमार्फत निधि भवनबाट आयोजना गरिने उक्त कार्यक्रममार्फत प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका गरी कुल ३२० किलोमिटर सडक निर्माणको थालनी गरिनेछ। भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवका अनुसार तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद योजना अन्तर्गत डिपिआर समेत तयार भइसकेको र निर्माणमा करिब १२७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यस आयोजनालाई प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले विश्व बैंकको सहयोगमा अगाडि बढाएको हो। 'एक निर्वाचन क्षेत्र, एक सडक' अवधारणामा आधारित यस दोस्रो चरणको कार्यक्रम अन्तर्गत १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर सडकको बृहत मर्मत तथा एक हजार किलोमिटर सडकको नियमित मर्मतसम्भारसमेत गरिनेछ। सडक छनोटमा प्रादेशिक सांसदहरूको सिफारिस र सर्वदलीय सहमतिअनुसार काम अघि बढाइएको एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments