नेपालमा गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा, देशभर विविध कार्यक्रमसहित उत्सवपूर्वक मनाइयो
3 महीना पहिले प्रकाशित

काठमाडौं,जेठ १५ गते । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा भएको छ। २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेपछि यो दिनलाई ऐतिहासिक सम्झनाका रूपमा गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको हो। तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा भएको जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा प्राप्त गणतन्त्रले नेपाली जनतालाई स्वतन्त्रता, सामाजिक न्याय र नागरिक सर्वोच्चताको प्रत्याभूति दिलाएको मानिन्छ।
गणतन्त्र दिवसको अवसरमा मुलुकभर विविध कार्यक्रम आयोजना गरिएको छ भने सैनिक मञ्च टुँडिखेलमा आयोजित मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ। सो अवसरमा सहिदहरूको सम्मानमा श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र स्थापनामा योगदान गर्ने अग्रजहरूको स्मरण गरिएको छ। नेताहरूले गणतन्त्रलाई संस्थागत गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र समृद्धिमा केन्द्रित भई जनताको जीवनस्तर उकास्नुपर्ने आवश्यकता औँल्याएका छन्। संविधान र जनादेशअनुसार अगाडि बढ्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल र सुदृढ बन्नेमा उनीहरूको विश्वास छ।
कमेन्ट गर्नुहोस्
view comments