मन्त्री खड्काद्वारा लोडसेडिङ हल्ला खण्डन, विद्युत् उत्पादन बढेर निर्यात सुरु
3 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ भयो’ भन्ने हल्लालाई आधारहीन र नियोजित भ्रम फैलाउने प्रयास भएको बताएका छन्। प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बैठकमा उनले अहिले नेपालले आन्तरिक विद्युत् माग पूरा गरी भारततर्फ निर्यात सुरु गरेको जानकारी दिएका छन्। वर्षा सुरु भएपछि उत्पादन बढेपछि भारतबाट आयात रोकिने र निर्यात सुरु भएको उनले बताए। मन्त्री खड्काले हिउँदमा करिब एक हजार ५५ मेगावाट विद्युत् आयात गरिए पनि अहिले पर्याप्त उत्पादनका कारण सर्वसाधारण र उद्योगहरूलाई विद्युत् आपूर्ति सन्तुलनमा रहेको उल्लेख गरे।
मन्त्री खड्काले विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या प्राविधिक कारणले हुने गरेको र लोडसेडिङ नभएको स्पष्ट पारे। उनले विदेशमा रहेका केही व्यक्तिहरूले नियोजित रूपमा भ्रम फैलाउने प्रयास गरिरहेको बताए र नेपाल विद्युत् प्राधिकरणले विद्युत् अवरुद्ध भएमा स्पष्ट सूचना दिने अभ्यास गरिरहेको जानकारी दिए। मन्त्री खड्काले आगामी दिनमा विद्युत् खपत तीव्र रूपमा बढ्ने भएकाले उत्पादन अझ वृद्धि गर्ने योजना रहेको र जनतालाई प्रमाणसहितको तथ्यमा विश्वास गर्न आग्रह गरे। उनले भने, “हामीसँग अहिले विद्युत् उत्पादन आवश्यकताभन्दा बढी छ, त्यसैले निर्यात भइरहेको छ, लोडसेडिङको कुनै खतरा छैन।”
कमेन्ट गर्नुहोस्
view comments