संविधान संशोधनमार्फत मधेसी अधिकार सुनिश्चित गर्ने उपाध्यक्ष सिंहको विश्वास, आर्थिक विकासलाई मुख्य मुद्दा बनाउनु पर्नेमा जोड
6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधनमार्फत मधेसी समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले देशको आर्थिक विकासलाई राजनीतिक दलहरूको मुख्य मुद्दा बनाउनु पर्ने बताउँदै, युवाहरूको विदेश पलायन रोक्न स्वदेशमै रोजगारी र आम्दानीका स्रोतहरू विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। सिंहले कृषिमा लगानी, पर्यटनको व्यवस्थापन, उद्योग सञ्चालन र प्राकृतिक स्रोतको सदुपयोगमार्फत देश आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीमा पारदर्शी ढंगले लगानी गर्नुपर्ने र सुशासन कायम गर्न तीनै तहका सरकार अनुशासित हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
सिंहले मधेसी समुदायको प्रतिनिधित्व राज्यका सबै निकायमा जनसंख्याका आधारमा सुनिश्चित हुनुपर्ने माग गर्दै, संविधान कार्यान्वयनको क्रममा पछाडि परेका समुदायका अधिकार अझै कार्यान्वयन हुन बाँकी रहेको उल्लेख गर्नुभयो। उहाँले संघीयता लोकतन्त्रको गहना भएको र यसले देशलाई उज्यालोतर्फ डोहोर्याउने विश्वास व्यक्त गर्दै, संघीयतालाई सुदृढ बनाउन आवश्यक कानुन निर्माण गर्नुपर्ने बताए। सिंहले सबै दल मिलेर देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने, आरोप–प्रत्यारोपको राजनीति त्याग्नुपर्ने र जनताको मुख्य चाहना समृद्ध नेपाल, सुखी नेपाली पूरा गर्न सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ।
कमेन्ट गर्नुहोस्
view comments