प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने पक्का, आजै सिफारिस र नियुक्ति हुने सम्भावना

3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ६ गते ।  प्रा.डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बन्ने निश्चित भएको छ। अर्थशास्त्रीसमेत रहेका पौडेलको नाम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका थिए, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका हुन्। बालुवाटारमा वैशाख २९ र जेठ ६ गते भएको छलफलमा देउवाले पौडेलको नाम अघि सारेका थिए। बालुवाटार स्रोतका अनुसार, “कांग्रेसले दिएको नाममै सहमति भएको हो,” र सम्भवत: आजै सिफारिस समितिबाट नाम सिफारिस गरी मन्त्रिपरिषदबाट नियुक्ति गरिनेछ।

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री ओली, सभापति देउवा, अर्थमन्त्री विष्णु पौडेल, र गृहमन्त्री रमेश लेखकबीच मंगलबार बालुवाटारमा विस्तृत छलफल भएको थियो। त्यही अनुसार गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने आजै मन्त्रिपरिषद बैठक बस्दैछ। अमेरिकाबाट पीएचडी गरेका पौडेल काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक हुन्। उनी पूर्व योजनायोग उपाध्यक्ष, अर्थ मन्त्रालयका सल्लाहकार तथा आइएलओका परामर्शदाता समेत रहिसकेका छन्। गत चैत २४ देखि गभर्नर पद रिक्त छ भने कार्यकारी जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानाले सम्हाल्दै आएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?