नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै

4 वर्ष पहिले प्रकाशित

 २०७८ मंसिर २४ गते

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुन लागेको हो ।

उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उद्घाटन समारोहमा धेरै मानिस उतारेको छैन । काठमाडौं उपत्यकाभित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरु मात्र उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करीब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ ।
त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?