"लोडसेडिङ्ग फिर्ता आउँदैन" — प्राविधिक समस्याबारे हितेन्द्रदेव शाक्यको स्पष्टिकरण

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २ गते । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विहीबार बेलुका देखिएको विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्। उनले यो समस्या मौसमजन्य कारण र प्राविधिक गडबडीका कारण भएको स्पष्ट पार्दै अब नेपालमा पुनः लोडसेडिङ्ग फर्कने स्थिति नरहेको बताए। “अब इन्भर्टर र मैनबत्तीको दिन आए” भन्ने अभिव्यक्तिहरू तथ्यहीन रहेको उल्लेख गर्दै उनले आम उपभोक्तालाई नआत्तिन आग्रह गरे।

शाक्यका अनुसार ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा एकैपटक समस्या आउँदा भारतबाट आपूर्ति हुने विद्युत रोकिएको थियो। उच्च गतिको हावाहुरीले लाइनमा क्षति पुर्‍याएपछि, नेपालले आन्तरिक प्रणालीमार्फत आपूर्ति मिलाउने प्रयास गरेको भए पनि साँझको समयको उच्च माग व्यवस्थापन गर्न नसकिएको उनले बताए। अन्य अन्तरदेशीय लाइनहरूमार्फत वैकल्पिक आपूर्तिको प्रयास गरिए पनि प्रणालीमा अस्थिरता आउँदा लाइन ट्रिप भई आपूर्ति अवरुद्ध भएको हो। उनले विद्युत प्रणालीको दीर्घकालीन सुधारका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्य भइरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?