काठमाडौंमा सुरु भयो पहिलो ‘सगरमाथा संवाद’, जलवायु परिवर्तनबारे विश्वव्यापी छलफल

17 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २ गते । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद’ कार्यक्रम जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवताको भविष्यबारे अन्तर्राष्ट्रिय बहस तथा समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यस संवादमा १२ देशका उच्च प्रतिनिधिमण्डलसहित भारत, चीन लगायत मुलुकका मन्त्रीहरू, ६१ अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र, विकास साझेदार संस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागीता रहेको छ। संवादमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले विशिष्ट अतिथिहरूलाई स्वागत गरेकी छन् भने विविध सत्रहरूमा गम्भीर छलफलहरू जारी छन्।

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहित जेठ ४ गतेसम्म चल्ने यस बहुसरोकारवाला फोरममा प्लेनरी सेसन, समानान्तर सत्र र साइड इभेन्टहरू हुनेछन्। प्रधानमन्त्रीको संयोजकत्वमा गठन गरिएको निर्देशक समितिबाट संवादको आयोजना गरिएको हो भने अन्तिम दिन पर्वतीय उडानमार्फत विदेशी अतिथिलाई हिमाल अवलोकन गराइने र ‘काठमाडौं घोषणा’ जारी गरिने छ। संयुक्त राष्ट्रसंघले २०२५ लाई ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’ घोषणा गरेको सन्दर्भमा, हिमाली संवेदनशीलता र संरक्षणका विषयहरू पनि संवादको मुख्य एजेन्डा बनेका छन्। संवादलाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारी निर्णयले यो मञ्चलाई दीर्घकालीन तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?