एमालेभित्र आन्तरिक विवाद चुलियो, झडपमा प्रदेश सदस्यसहित घाइते
14 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २४ गते । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद अब भौतिक झडपमा परिणत हुन थालेको छ। पछिल्लो केही दिनदेखि पार्टीका विभिन्न तहमा भइरहेका अधिवेशन र कार्यतालिकाका विषयमा नेताकर्मचारीबीच झडप र कुटपिटका घटनाहरू सार्वजनिक भइरहेका छन्।
सबैभन्दा पछिल्लो घटनामा, पर्वत जिल्लामा एमालेको पार्टी कार्यालयमै गणेश तिमिल्सिना र पदम गिरी समूहका युवा नेताहरूबीच झडप भएको छ। झडपमा गण्डकी प्रदेशका एमाले सदस्य अर्जुन निर्जन पौडेल र युवा संघका नेता धु्रव श्रेष्ठ घाइते भएका छन्। घाइते पौडेलको पर्वतस्थित शान्तिदीप अस्पतालमा उपचार भइरहेको छ।
घटनाको पृष्ठभूमिमा गिरी समूहले अधिवेशन डाकेपछि तिमिल्सिना समूहले समय सार्न माग गरेका थिए। गिरी पक्षले कार्यक्रम उद्घाटन गरेपछि तिमिल्सिना पक्षले विरोध जनाउँदा अवस्था झडपमा परिणत भएको बताइएको छ। यो घटनाले एमालेभित्र गहिरिएको गुटबन्दी र असन्तुष्टि पुनः सतहमा ल्याएको छ।
यसअघि पनि वैशाख १९ गते युवासंघ नेपाल ताप्लेजुङ अधिवेशन र वैशाख २२ गते धनुषा जिल्ला अधिवेशनमा समान किसिमका झडप भएका थिए। ताप्लेजुङमा नयाँ समिति चयन प्रक्रिया नै स्थगित गरिएको थियो भने धनुषामा रघुवीर महासेठ र उमाशंकर अरगरिया पक्षबीचको भिडन्तमा पनि नेताकार्यकर्ता घाइते भएका थिए।
कमेन्ट गर्नुहोस्
view comments