किसानलाई समयमै मल नदिएर सरकारद्वारा अन्याय भएको सांसद प्रभु साहको आरोप
15 घन्टा पहिले प्रकाशित

काठमाडौँ, वैशाख २४ गते । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले सरकारले बाली लगाउने प्रमुख समयमा किसानलाई मल उपलब्ध नगराएर ठूलो अन्याय गरेको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मलको चरम अभावले किसानको पिठ्युमा बोझ थपिएको बताएका हुन्।
सांसद साहका अनुसार किसानले मल पाइरहेका छैनन्, पाइहाले पनि सरकारी वितरण केन्द्रमा नभई बजारमा अत्यधिक मूल्य तिर्नु पर्ने बाध्यता छ। “बाली लगाउने बेला किसानले मल पाइरहेको छैन,” उनले भने, “मल भए पनि पसलमा महँगोमा मात्रै पाउने अवस्था छ।”
उनले बजारमा मल दुईगुणा, तीनगुणासम्म महँगोमा पाइरहेको उल्लेख गर्दै सरकारको बेवास्ताका कारण किसान मारमा परेको बताए। उनले यस्ता स्थितिमा किसानलाई राहत दिनुको सट्टा सरकारले झन् समस्या थपेको आरोप लगाए।
विशेषगरी पहाडी क्षेत्रमा अहिले मकै छर्ने समय भएकाले डीएपी मल को खपत अत्यधिक हुने भए पनि त्यसको आपूर्ति नहुनु गम्भीर समस्या भएको उनले बताए। यथाशीघ्र मल आपूर्ति व्यवस्था नगरे देशभरका किसान आन्दोलित हुने चेतावनी पनि उनले दिए।
कमेन्ट गर्नुहोस्
view comments