भारत–पाकिस्तान तनावपछि सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
15 घन्टा पहिले प्रकाशित

काठमाडौँ, वैशाख २४ गते । भारत र पाकिस्तानबीच पछिल्लो समय बढ्दो तनावको असर नेपाल–भारत सीमामा समेत देखिन थालेको छ। त्यसैलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार अवैध घुसपैठ रोकथाम तथा सीमा सुरक्षा मजबुत पार्न भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग सहकार्यमा संयुक्त गस्ती, खबर आदान–प्रदान तथा चौबीसै घण्टा निगरानी गरिने व्यवस्था मिलाइएको छ। एक सीमा सुरक्षा चौकी (बीओपी) बाट अर्को बीओपीसम्म निरन्तर गस्ती गरिने उनले जानकारी दिए।
थापाले सीमा क्षेत्रमा अनाधिकृत आवतजावत नियन्त्रण गर्न सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको र सोही अनुसार स्थानीय सुरक्षा योजनाहरू तयार पारेर कार्यान्वयनमा ल्याइएको बताए। साथै, सीमा क्षेत्रमा परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कामलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ।
संभावित संवेदनशील स्थानहरूमा निगरानी, चेकजाँच तथा सुक्ष्म रुपमा सूचनाको संकलनसमेत भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ। क्षेत्रीय सुरक्षालाई मजबुत बनाउन नागरिकको सहकार्य जरुरी रहेको पनि प्रवक्ता थापाले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments