हेटौंडामा भासिएर बेपत्ता भएको गाडीको अध्ययन गर्न भूगर्भविद्को टोली खटियो

2 दिन पहिले प्रकाशित

काठमाडौं,वैशाख २३ गते । हेटौंडामा जमिन भासिएर गाडी बेपत्ता भएको रहस्यमय घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागबाट चार सदस्यीय टोली मंगलबार घटनास्थलमा पुगेको छ। टोलीले गाडी भासिएको स्थानको भू–संरचना, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रको वैज्ञानिक अध्ययन सुरु गरेको छ। भूगर्भविद् नारायण अधिकारीका अनुसार माटोको सतह, भौगोलिक अवस्था र जमिन भासिनुको कारण पत्ता लगाउन तथ्यांक संकलन र वैज्ञानिक उपकरण प्रयोग गरिनेछ।

टोलीले घटनास्थलमा प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी चुम्बकीय क्षेत्रको अवस्था पत्ता लगाउने तयारी गरेको छ। गत शुक्रबार हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याब बलेरो गाडी एक्कासी भासिएर बेपत्ता भएको थियो। गाडी निकाल्ने प्रयासका क्रममा अगाडिका पाङ्ग्रा जमिनमा धसिएपछि जमिन एकाएक भासिएको बताइएको छ। तीन दिनसम्म खोजी गर्दा गाडी फेला नपरेपछि नगरपालिकाले भूगर्भविद् बोलाएर अध्ययन सुरु गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?