एमाले धनुषा जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट, मतदान प्रक्रिया रोकियो
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २३ गते । जनकपुरधाममा जारी नेकपा एमाले धनुषा जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद चुलिँदै कुटाकुटको स्थिति सिर्जना भएको छ। उम्मेदवारीमा नियमविपरीत दावी परेका विषयमा विरोध भएपछि झगडा सुरु भएको बताइएको छ। अधिवेशन स्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ भने मतदाता प्रक्रियालाई हालका लागि रोकिएको छ। अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवका अनुसार विधानविपरीत उम्मेदवारी खारेज नगरेकाले विवाद बढेको हो। उपसचिव पदका उम्मेदवार रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्ष पदका वीरेन्द्रलाल कर्णको उम्मेदवारी समेत उनले नियमविपरीत भएको दाबी गरेका छन्।
निर्वाचन प्रक्रियालाई निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउन निर्वाचन समिति इच्छुक नरहेको आरोप लगाउँदै यादव पक्षले हलभित्र धर्ना समेत सुरु गरेका छन्। अधिवेशनमा एमाले सचिव रघुवीर महासेठको समूह र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलसहितका नेताहरूबीच प्रतिस्पर्धा रहेको छ। दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्। मण्डल पक्षले महासेठ समूहमाथि निर्वाचनमा धाँधली गराउन खोजेको आरोप लगाएका छन् भने महासेठ पक्षले भोला यादवलाई अध्यक्ष पदमा अघि सारेका छन्। बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान तयारी नपुगेको भन्दै १० बजेसम्म सारिएको थियो, तर विवादका कारण प्रक्रिया अनिश्चित बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments