संसदको चालु अधिवेशनमै विद्यालय शिक्षा विधेयक पारित हुने राष्ट्रपति पौडेलको घोषणा

2 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनमै पारित गरिने घोषणा गरेका छन्। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै, उनले उक्त विधेयकलाई यसै अधिवेशनमा टुंगो लगाइने स्पष्ट पारे। विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई छिटो पारित गरेर विद्यालय शिक्षाको दीर्घकालीन सुधारको खाका कार्यान्वयनमा लैजाने योजना रहेको उनले बताए।

राष्ट्रपतिले शिक्षाको गुणस्तर अभिवृद्धि, पहुँच, र जीवनोपयोगीतालाई प्राथमिकतामा राख्दै शासकीय संरचनाको पुनर्संरचना र सुधार गरिने उल्लेख गरे। विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो। यसैबीच, सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि काठमाडौंमा जारी शिक्षक आन्दोलन वैशाख १७ गतेदेखि स्थगित भइसकेको छ। सत्तारूढ दलका प्रमुख सचेतकहरूले असार १५ भित्र विधेयक जारी गर्ने सहमति जनाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?