तीन नेताको फरकफरक भाषणले ओली सरकारको निरन्तरतामा प्रश्नचिन्ह
2 महीना पहिले प्रकाशित

काठमाडौं, चैत १२ गते । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फरक-फरक ठाउँमा दिएका अभिव्यक्तिहरूले वर्तमान सरकारको स्थायित्वप्रति शंका उत्पन्न गराएको छ। गणितीय हिसाबले बलियो देखिने कांग्रेस–एमाले नेतृत्वको सरकारका बारेमा केही समयदेखि अस्थिरता हुने चर्चा चलिरहेको बेला यी तीन नेताको अभिव्यक्तिले त्यो बहस थप बलियो बनाएको छ। प्रचण्डले संसदीय दल बैठकमा कांग्रेस सभापति देउवाले आफूलाई फोन गरेर सरकार नटिक्ने कुरा गरेको खुलासा गरे भने, थापाले सरकार ठूलो कुरा होइन, मूल्य र आदर्श नै मुख्य हुन् भन्ने संकेत गर्दै आवश्यक परे सरकार छाड्न पछि नपर्ने ध्वनि दिएका छन्।
प्रधानमन्त्री ओलीले भने पहिलेजस्तो दृढताका साथ सरकार नढल्ने भनेका छैनन्। उल्टै, अब एमालेको ध्यान सरकार बनाउने वा जोगाउनेमा नभई २०८४ को चुनावमा केन्द्रित रहेको बताएका छन्। उनले 'विदेशका दलाल तत्वहरू' एमालेविरुद्ध सक्रिय रहेको आरोप पनि लगाए। यसअघि सरकारको स्थायित्वमा दृढ देखिने ओलीको यस्तो बयानले पनि भ्रम फैलिएको छ। यी सबै अभिव्यक्तिहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वर्तमान सत्ता गठबन्धन भित्र असन्तोष र असमझदारी बढ्दै गएको संकेत दिएका छन्, जसले सरकारको भविष्यप्रति दलभित्रै पनि शंका पैदा गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments