जनमत पार्टीभित्र शक्ति दुरुपयोग र आर्थिक अनियमितताको आरोप, ई. सुरेन्द्र यादवको गिरफ्तारी षड्यन्त्र भएको दाबी

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ८ गते ।  जनमत पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साहले पार्टी कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै यादवमाथिको कारबाहीको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनको माग गरेका छन्। साथै, पार्टी नेतृत्वमा देखिएको आर्थिक अनियमितता, शक्ति दुरुपयोग र आन्तरिक अपारदर्शिता उजागर गर्दै जिम्मेवार नेतृत्वको आवश्यकतामाथि जोड दिएका छन्।

साहका अनुसार पार्टी अध्यक्ष डा. सी. के. राउतको नेतृत्वमा पार्टीभित्र आर्थिक अपारदर्शिता चरम अवस्थामा पुगेको छ। जनकपुरमा पार्टीका लागि बनाइएको घर व्यक्तिगत खर्चमा बनाइए पनि त्यसको श्रेय अन्यत्र लगिएको, संसदीय टिकट वितरणमा विभेद गरिएको, समानुपातिक सूचीमा समावेश गराउन ५० लाख रुपैयाँ माग गरिएको, र सांसदद्वारा इमाडोलमा व्यक्तिगत सम्पत्तिको नाममा घर-जग्गा खरिद भएको जस्ता गम्भीर आरोपहरू प्रेस विज्ञप्तिमा उल्लेख छन्। साथै, काठमाडौँस्थित कोटेश्वरमा पुरानो होटल भाडामा लिएर पार्टीको कार्यालय सञ्चालन गरिएको, कतिपय नेताहरूको नाममा गाडी खरिद गरिएको र आर्थिक सहायता संकलनलाई निजी प्रयोजनमा प्रयोग गरिएको आरोप पनि उनले लगाएका छन्। यी सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्दै पार्टीभित्र पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति आवश्यक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?