एमाले नेता बस्नेतद्वारा सरकारको निर्णयप्रति धन्यवाद, 'ढुङ्गाले हान्नेलाई फूलले हानेको' टिप्पणी
3 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख ८ गते । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारको पछिल्लो निर्णयप्रति धन्यवाद दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणालाई हाजिर जमानीमा रिहा गरिएको घटनालाई उनले "ढुङ्गाले हान्नेलाई फूलले हानेको" संज्ञा दिएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले राणाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सरकारले मानवीय आधारमा उनलाई रिहा गरेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, "राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणा हाजिर जमानीमा छुटेका छन्। स्वास्थ्य अवस्थालाई ध्यानमा राखी सरकारले मानवीय दृष्टिकोणले रिहा गरेको हो। सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको छ। धन्यवाद नेपाल सरकार!"
नेता बस्नेतको यो अभिव्यक्ति राप्रपा महामन्त्री राणाको रिहाइसँग जोडिएको छ, जसले सरकारको व्यवहारमा देखिएको सहिष्णुताको संकेत गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments