प्रधानमन्त्री ओलीको मधेस सम्बोधन: “गरिबी नहटेसम्म अधिकारको अर्थ छैन, लोकतन्त्र जीवनमा फुलाउनुपर्छ”
9 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सेवा पवित्रभावले गर्नुपर्ने र लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने दृढ अठोटका साथ सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन्। मंगलबार मधेस प्रदेशसभाको विशेष सम्बोधन गर्दै उनले गरिबी नहटेसम्म अरू अधिकारको कुनै अर्थ नहुने भन्दै विकास र समृद्धिको यात्रामा सबै मिलेर अघि बढ्न आह्वान गरे। ओलीले मधेसलाई सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको उत्कृष्ट उदाहरण बताउँदै यहाँका नागरिकले मुलुकको स्वतन्त्रता, स्वाभिमान र अखण्डता जोगाउन पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
प्रधानमन्त्री ओलीले मधेसलाई कृषि, जलस्रोत, जडिबुटी र औद्योगिक सम्भावनाले भरिएको सम्भावनाशील भूमि भन्दै सुनकोसी डाइभर्सन जस्ता आयोजनाबाट सिँचाइको विकास र पहाड-तराईबीच एकता सुदृढ हुने बताए। उनले जनकपुरलाई सांस्कृतिक पर्यटनको केन्द्र र वीरगञ्जलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण अघि सारे। रेलमार्ग, हाइवे, हुलाकी सडकलगायत पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ओलीले विरोध होइन, सहकार्यका माध्यमबाट प्रदेशलाई नमुना बनाउने सोच आवश्यक रहेको बताए। साथै, अनावश्यक नगद वितरणभन्दा पशुपालन, औजार र उपकरणमा आधारित अनुदान नीतिमा सरकार जाने स्पष्ट पारे।
कमेन्ट गर्नुहोस्
view comments