प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा विशेष सम्बोधन गर्दै, सुरक्षा व्यवस्था कडा

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान साढे १० बजे मधेश प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। जनकपुर विमानस्थलमा हेलिकोप्टरमार्फत अवतरण गरेपछि उनी सिधै प्रदेशसभा भवन पुग्ने कार्यक्रम तय भएको छ। यो दोस्रो पटक हो जब प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गर्न लागेका हुन्। यसअघि, मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा पनि उनले विशेष सम्बोधन गरेका थिए।

प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनलाई बैठकको एकमात्र कार्यसूचीका रूपमा सार्वजनिक गरेको छ। सचिवालयका सचिव बासु कोइरालाका अनुसार सम्बोधनका लागि सभा भवन विशेषरूपमा सजाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार सुरक्षाका लागि व्यापक तयारी गरिएको छ। सम्बोधनपछि प्रधानमन्त्री ओली हेलिकोप्टरबाटै सिराहा प्रस्थान गर्नेछन् र त्यहाँका दुई कार्यक्रममा सहभागी भएर अपराह्न संघीय राजधानी काठमाडौं फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?