मधेशवादी नेताहरू सत्ता मोहमा, आन्दोलनका मूल एजेन्डा ओझेलमा परेको आरोप

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २४ गते । वीरगन्जमा जारी मधेश साहित्य महोत्सवको दोस्रो दिनको पहिलो सत्रमा वक्ताहरूले मधेश आन्दोलनको मूल उद्देश्यबाट मधेशवादी दलहरू विमुख हुँदै गएको आरोप लगाएका छन्। ‘समथर मधेशका नागबेली संघर्ष’ शीर्षक सत्रमा वक्ताहरूले दलित, मुस्लिम र पिछडावर्गमाथि कायम रहेको विभेद अन्त्य गर्न मधेशमै नयाँ आन्दोलनको आवश्यकता औंल्याए। उनीहरूका अनुसार आन्दोलनका बेला सँगै रहेका समुदायहरूलाई उपलब्धिको बेला बेवास्ता गरिएको छ।

वक्ताहरू तुलानारायण साह, विजयकान्त कर्ण, राकेश मिश्र र भोला पासवानले मधेशवादी दलहरू सत्ताको लालसा र आपसी फुटले आन्दोलनका एजेन्डा ओझेलमा पारेको धारणा राखे। साहले मधेश आन्दोलनमा योगदान दिने वर्गहरूलाई पछि पारिएको भन्दै नेताहरूको प्रतिबद्धता माथि प्रश्न उठाए। कर्णले त मधेशवादी दलकै नामबाट ‘मधेश’ शब्द हराउँदै गएको टिप्पणी गर्दै सत्ता प्राप्तिका लागि मूल्य र मुद्दा बेचिएको आरोप लगाए।

चिन्तक राकेश मिश्रले शासकहरूले मधेश आन्दोलनलाई कहिल्यै पनि वैध रूपमा नबुझेको बताए भने दलित अधिकारकर्मी भोला पासवानले मधेशवादी दलहरूले दलितको आवाज अझै नउठाएको गुनासो गरे। नागरिकता विहीन मुसहर समुदायको अवस्था झनै गम्भीर रहेको उल्लेख गर्दै उनले राज्यको उपेक्षाप्रति आक्रोश व्यक्त गरे। कार्यक्रमको प्रारम्भमा चारवटा साहित्यिक कृति विमोचन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?