मधेश प्रदेशमा महिलाको ५०% सहभागिता बिना विकास असम्भव: मुख्यमन्त्री सिंह

1 महीना पहिले प्रकाशित

जनकपुरधाम,फागुन २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले महिलाको ५०% सहभागिता बिना देशको विकास सम्भव नभएको बताएका छन्। महोत्तरीको बर्दिबासमा मंगलबार सञ्चारिका समूह नेपाल मधेश प्रदेशले आयोजना गरेको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले महिलालाई रोजगारीमा अनिवार्य सहभागी गराउन आवश्यक रहेको बताए। घरमा बसेका महिलालाई रोजगारमा संलग्न गराउन सके देशले तीव्र विकास गर्ने उनको धारणा थियो।

पत्रकारितामा महिलाको सहभागिता बढाउन र उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न सञ्चार क्षेत्रका नेतृत्वदायी संस्थाहरू गम्भीर हुनुपर्नेमा मुख्यमन्त्री सिंहले जोड दिए। नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरूको क्षमता अभिवृद्धि र मिडिया विकासका लागि मधेश सरकार गम्भीर हुनुपर्ने बताए। सञ्चारिका समूहका केन्द्रीय सदस्य सलोजा दाहालले मधेश प्रदेशमा महिला पत्रकारहरूको संख्या सातै प्रदेशमध्ये सबैभन्दा कम भएकाले उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताइन्।

मुख्यमन्त्री सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भइरहेको विकृतिका कारण शिक्षाको स्तर खस्किँदै गएकाले यसपालिको एसईईलाई मर्यादित बनाउन निर्देशन दिएको जानकारी दिए। एसईई मर्यादित भएमा शैक्षिक स्तर आफैं सुधार हुने विश्वास व्यक्त गर्दै उनले केन्द्राध्यक्षलाई गोला प्रथाबाट चयन गर्ने, परीक्षा मर्यादित गराउने केन्द्राध्यक्षलाई आर्थिक पुरस्कारसहित सम्मान गर्ने र गल्ती गर्नेहरूलाई कारबाही गर्ने योजना रहेको बताए। एसईईपछि शैक्षिक स्तर सुधारका लागि विद्यालयहरूको अनुगमन गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?